Friday, April 27, 2012

"म को हूँ???"


मानिस जन्मनुको एउटा उद्देश्य हुन्छ, त्यो पुरा हुनको लागि ऊ बाच्नुपर्छ र त्यसैगरि म आफ्नो उदेश्यलाई पच्छयाउदै बाँचिरहेको छु ।

सन् १९८७, २४ जनवरीको दिन भारतको दार्जीलिङ्गमा मैले मेरी आमाको न्यानो गर्भबाट बिदा माग्दै यो चिसो संसारमा आफ्नो पहिलो सास लिएँ । बालकहरु रुँदै जन्मन्छन्, त्यो सुन्दा अझै पनि मलाई अचम्भ लाग्छ । बैज्ञानिक तरिकाले यसलाई अर्कै रुपमा व्याख्या गरिन्छ, तर रुँदै जन्मेको बालकलाई सम्झदा भने, सायद यो संसारको पिड़ालाई उनिहरु पहिले नै महसुस गर्छन् होला जस्तै लाग्छ । आफु सधैं खुसी रहन खोज्ने यो संसारको पिड़ा सायद हामी भन्दा पहिले नै थाहा पाउँछन् उनिहरु । त्यसैगरि यो दुःखदायी संसारलाई अगाँल्न, मैले आफ्नो पहिलो सास फेर्दा रुँदै आए । तर आजको दिनसम्म मलाई अफसोस छैन कि म यहाँ छु, निकै उदेक तरिकाले अघि बढेको छ मेरो जीवन ।

म शमूएल छेत्री, नाम उच्चारण गर्न कतिपय बुढा–पाकालाई अप्ठयारो लाग्छ रे ! मेरो हजुरबुवाले राखिदिनुभएको यो नामलाई बुझाउन कहिलेकहिँ हम्मे हम्मे पर्छ । त्यसैले यसलाई सरल पार्न “सामेल” हो मेरो नाम” भन्ने गरेको छु । हाम्रो बसोबास सुरुका दिनहरुमा भारतको मंग्पु भन्ने ठाउँमा थियो । त्यबेला मेरो हजुरबुवा (बुवा पट्टिको) पनि हामीसंगै हुनुहुन्थ्यो, मलाई खुब माया गर्नुहुन्थ्यो उहाँले । रोमको इटालीमा दोस्रो विश्व युद्धको समयमा उहाँले आफ्नो एउटा खुट्टा गुमाउनु भएको थियो ।

कहिलेकहिँ त्यो खुट्टाले, उहाँलाई धेरै तखलिफ दिन्थ्यो । बृद्ध अवस्थामा त्यो दुखाईलाई उहाँले कसरी सहनुहुन्थ्यो त्यो अहिले सम्झदा मन चस्स घोच्छ । उहाँ कहिलेकहिँ घुम्न जानु हुन्थ्यो, मलाई संगै लैजान भुल्नुहुन्नथ्यो “अरेन्ज बोइज” किन्नलाई पसलतिर बढेको उहाँको कदम देख्दा म दङ्ग पर्थे । एक रुपयाँको चार वटा मिठाई मलाई थमाउनु भएपछि मैले खाएर रमाएको देख्दा उहाँको चेहरा उज्यालो हुन्थ्यो । सायद त्यो क्षणमा आफ्नो सबै दुखाई भुलेर मसंगै त्यो मिठाईको रसमा उहाँ भुल्नुहुन्थ्यो होला । म तीन बर्षको हुदाँ हजुरबुवाले हामी सबैलाई छोडिजानुभयो । एउटा छहारी गुमेको अनुभव गर्छु आज पनि । उहाँलाई दफनाएको बेलाको तस्बिर हेर्दा ती दिनहरुको सम्झना ताजा भई आउँछ, आँखा रसाउँछ ।

हामी मंग्पुमा हुदाँनै हाम्रो घरमा एउटा नयाँ सदस्य पनि थपियो, मेरो भाई जोएल मनोहर, जोएल नाम चाहिँ हजुरबुवाले राखिदिनुभएको । भाई जन्मदाको रमाइलो घट्ना छ, दार्जीलिङ्गको अस्पतालमा जब भाईलाई लिएर आमाको छेऊमा डाक्टरहरुले राखिदिए, त्यो बेलामा मैले, “मैले यो नर्सको छोरालाई किन यहाँ राखेको, नर्सलाईनै देऊ” भनेर खुब रोएँअरे, मलाई यो घट्ना थाहा छैन तर आमाले भन्नुहुन्छ कहिलेकहिँ अनि हामी दुई भाई हाँस्छौं ।त्यो बेलामा मैले उसलाई यस्तो भने पनि अहिले हाम्रो जोडी देखेर आमा, बुवा लगाएत सबै चकित हुन्छन् । सानो बेला देखिनै हामी संगै खेल्थ्यौं, अहिले पनि मलाई सम्झना छ, एकदोस्रा भए हामीलाई अरु कोहि चाहिन्दैनथ्यो । अहिले पनि त्यस्तै छ र पछि सम्म रहिरहोस् ।

त्यसपछि हामी दार्जीलिङ्ग बजारमा नै स¥यौं । सिंहमारीमा माइलाबाजेको घरमा एउटा कोठा र एउटा भान्सा भाडामा लिएर बसेका थियौं । निकै दुःख थियो त्यसबेला, तर बुवाले त्यसको महसुस हामीलाई कहिल्यै हुनदिनुभएन । हजुरबाको छहारी हराए पनि बुवाको छत्र–छाँयामा बस्न पाउँदा त्यो दुःख त थियो कि थिएन थाहै पनि पाएनौं हामीले । त्योे बेलादेखि मेरो पढाई पनि सुरु भयो र मलाई त्यहीको शिशुस्यार केन्द«मा भर्ना गराइयो, सानैदेखि स्कूल जान मलाई साह्रै गाह्रो लाग्थ्यो, स्कूल जाने समय भयो कि, मुख अँध्यारो बनाएर आँखाभरि आँशु निकाल्थे । त्यहाँका शिक्षिकाहरु पनि माया गर्नेनै हुनुहुथ्यो, तरै पनि स्कूल भनेपछि, अँह ठयाम्मै जान मन नलाग्ने । पाँच बर्षको उमेरमा हामी दार्जीलिङ्गबाट खरसाङ्ग आयौं । त्यहाँ मलाई स्कूलमा भर्ना गरियो तर पनि स्कूल भने जान मन नलाग्ने नै थियो । बरु घरमा बस्न रुचाउँथे, बिस्तारै बानि पर्दै गयो र स्कूल जान थालें ।

बदमासीमा पनि कम थिइन म, अरुको अगाडि त्यति नबोल्ने तर काम चाहिँ बिगारिहाल्ने, मेरो बानि । केहि नौलो समान त मेरो हातमा “बादरको हातमा नरिवल” भन्ने जस्तै हुन्थ्यो । टाऊकोमा दुईवटा चक्र भएको मान्छे अलि चकचके हुन्छ भन्थे, म चाहिँ अलि बढीनै थिएँ । तर ठूलो चोट पटक चाहिँ कहिले लागेन, काम बिगार्न भने चाहिँ सिपालु । सानै देखि धेरै माया पाएर पनि हो की ?

कहिलेकहिँ यस्तै लाग्छ । बुवाको पिटाई पनि धेरैनै खाइन्थ्यो । एक पटक “आशिकि कट” भनेर कपाल काटेर आएको, बुवाले घरदेखि हिर्काउदै मेरो कपाल काटेको ठाउँसम्म लैजानुभएको छ । त्यो कुरा मलाई अझै झलझली याद आउँछ । सायद त्यसैले होला अहिले मलाई कपाल काट भन्यो भने काट्न मन नलाग्ने । जेहोस् बाल्यकालको त्यो चञ्चलपनले मलाई जवानीमा खुब रुवाएको छ ।

कक्षा तीनसम्म हामी खरसाङ्गमा बस्यौं र तयसपछि बुवाको कामले गर्दा हामी काठमाण्डौंमा आयौं । शुरुमा आउँदा शहर कहिले नदेखेको, हवाईजहाजहरु आफ्नै टाउकोमाथिबाट उडेको जस्तो देखिने साथै यत्ति धेरै मोटरहरु देख्दा त अर्कै लोक पुगको भान भएको थियो । बिस्तारै, यो जीवनले अर्कै मोड लिन थाल्यो, शहरी बसोबासो, जीवनशैली, लवाईखुवाईले मेरो जीवनलाई प्रभाव पार्न थाल्यो । अँन्धकारतिर जाँदै थियो मेरो जीवन । उज्यालोलाई पछयाउदैथिएँ तर त्यो उज्यालो त कृत्रिम रहेछ । बिस्तारै स्कूलका दिनहरु अघाडी बढ्दै थिए, मेरो जीवन पनि शहरका गल्लीहरु जस्तै साँघुरिदै थियो । शुरुवात चुरोटबाट भयो । कक्षा ७ मा हुँदा बाटोमा बलिरहेको चुरोटको ठूटालाई खुसुक्क टिपेर गल्लीतिर भागि मुखमा लगाई तानें । धुवा मुखको बाटो हुँदै स्वास नलिमा पुग्दा एक्कैछिन त असहय पिड़ा भयो, ५– १० मिटन खोकें अनि चुइगम खाँदै घरतिर लागें, यो मेरो दोस्रो पटक थियो चुरोटसंगको अनुभव, पहिलो पटक कक्षा तीनमा हुँदा खरसाङ्गमा तानेको धुवाँले मेरो आमाको टुपिबाट धुवाँ निकालिदियो र पाइपको पिटाईले गर्दा मेरो पनि कानबाट धुवाँ निस्कनेगरि मरम्मत भएको थियो । दिनहरु बित्दै गए त्यस्तै पढाई पनि सकिन्दै गयो तर परिक्षामा चाहिँ उतिर्ण हुँदै अघि बढ्दै गए । साथ–साथै चुरोटको मात्रा पनि बढ्दै गयो र कक्षा ८ मा मलाई रक्सि चाख्ने रहर जाग्यो, “एक पटक त हो नि” भन्दै मुखमा हाली हालें त्यो बेलामा के थाहा, एक पटक मुखमा गाडेपछि पूरै डुबिने रहेछ भनेर । बानि परिसकेपछि बल्ल याद आयो एक पटक भनेको त दिनको एकपटक भइसकेछ । तर भर्खर जवानी चड्दै गरेको उमेरमा घरबाट लुक्दै भए पनि चुरोट र रक्सि खाइयो त्यही सुरमा झगडा पनि गरियो । कहिले आफ्नो शरीरभरि कुटाईको डाम लिएर घर आइयो त कहिले पाएको बेलामा अरुलाई बजाएर पनि आइन्थ्यो । तातो रगत छिटो उम्लिने अनि फेरि काम बिग्रिहाल्ने । कक्षा ११ सम्म पुग्दा त गाजा, चरेस, खौरो हिरोइन सबैको कुलतमा फसियो । अरुले भन्छन् साथीको संगत नै नराम्रो तर म भन्छु, म आफै नराम्रो । चाहेको भए त्यो एक पटक नै मेरो अन्तिम पटक हुनसक्थ्यो तर सायद जीवनले केहि सिकाउँन चाहदैथियो त्यस समयमा मलाई । प्लस टुमा तीन बर्षसम्म उतिर्ण हुन नसकेपछि, बल्ल उतिर्ण भई स्नातकमा भर्ना भए । बाह्र सकिएको दोस्रो सालदेखि मैले आफ्नो जीवनलाई केलाएर हेरें, अँन्धकार बाहेक केहि देखिएन ।

कुलतले मलाई यसरी पक्रिएको थियो कि, म आफैले आफैंलाई चिन्न छोडिसकेको थिएँ । “म को हुँ ?” यो प्रश्न नै जीवनको एउटा ठूलो पर्खाल बनि मेरो सामु उभिएको थियो । आफैलाई अँन्धकारबाट उज्यालोमा ल्याई फेरि एक पटक आफ्नो मुहारलाई हेर्न चाहन्थें । यहिँ चाहनाले मलाई प्रेरणा दियो र ति सबै नराम्रा बानिहरु छोडि, म ज्यातितर्फ बढ्न लागे । बाटो निकै कठिन थियो, जब शरीरले ती थोक माग्दथियो, तब आफुलाई रोक्नलाई, मैले आफुले आफैंलाई ढोका बन्दगरि कैद गरेर राखें । बिस्तारै एक महिना दुई महिना हुँदै तेस्रो महिनामा म केहि हदसम्म आफ्नो शरीरको भागलाई काबुमा राख्न सक्ने भएँ र अन्ततः मैले त्यो अँध्यारो गल्लीलाई सधैंको लागि त्यागेर फराकिलो र उज्यालोले भरिएको बाटोमा आफ्नो कदम राखें ।
७ वर्ष पछि उज्यालोलाई अनुभव गर्दा आफैमा म गर्ब गर्न सक्थे । मेरो जीवनको परिवर्तनलाई नजिकबाट मैले आफैलाई नियाँलेर हेरें, तब मेरो जीवनको पनि केहि उदेश्य रहेछ, मेरो केहि जिम्मेवारी रहेछ, जो मैले निभाउन सकेको रहेनछु । मेरा केहि यस्ता पलहरु रहेछन् जो मैले समयमा नै बुद्धि नपु¥याएर गुमाएको रहेछु । तर अब फेरि त्यो बाटोलाई कहिल्यै फर्केर नहेर्ने दृढ संकल्प लिई अघि बढिरहेको छु, एउटा नयाँ आशा र नयाँ उमंगको साथमा ।

No comments:

Post a Comment